उद्यमशीलता विकास तालिम

१. परिचय

देशको अर्थतन्त्रमा देखिएको विद्यमान गरिबी, बेरोजगारी अर्ध–बेरोजगारी र सिजलन बेरोजगारीजस्ता समस्यालाई परिलक्षित गरी उद्यमशीलता विकास तालिम कार्यक्रमको माध्यमबाट स–साना लघु तथा घरेलु उद्योगहरू सिर्जना गर्नु आवश्यक देखिएकाले प्रतिष्ठानले यस प्रकारका कार्यक्रहरूलाई जोड दिएको छ । प्रतिष्ठानले नवीनतम सोच भएका युवाहरूलाई नयाँ नयाँ व्यवसायहरू स्थापना तथा सञ्चालन गर्न उद्यमशीलता विकास तालिम सञ्चालन गरिरहेको छ ।

२. उद्देश्य

उद्यमशीलता विकास तालिमको समग्र उद्देश्य तालिम लिएपछि हरेक सहभागिहरूले एक निश्चित तोकिएको अवधिभित्र आफूले छनोट गरेको व्यवसाय सुरु गर्ने रहेको छ भने तालिमको निर्दिष्ट उद्देश्यहरू निम्नानुसार छन् :

(क) सहभागीहरूको उद्यमशीलता सक्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने,

(ख) व्यावसायिक वातावरणको सूक्ष्म विश्लेषण गरी व्यावसायिक अवसर पहिचान गर्न सक्षम बनाउने,

(ग) सहभागीहरूले आफ्नो लागि उपयुक्त व्यवसाय छनोट गर्न सक्षम हुने,

(घ) सहभागीहरूको व्यावसायिक व्यवस्थापन क्षमता अभिवृद्धि हुने,

(ङ) सहभागीहरू आफूले छनोट गरेको व्यवसायको व्यवसायिक योजना तयारी गर्न सक्षम हुने र

(च) उद्योग व्यवसाय दर्ता, नवीकरण, तत्सम्बन्धी नीतिनियमहरू, सेवा–सुबिधाहरू, बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानी तथा असुली प्रक्रिया आदिबारे जानकारी प्राप्त हुने ।

३. तालिम विधि

यस तालिम कार्यक्रममा सञ्चालन प्रवचन र छलफल, भूमिका निर्वाह, व्यक्तिगत कार्य, सामूहिक कार्य, बजार अध्ययन, अभ्यासहरू र व्यावसायिक योजना प्रस्तुतीकरणजस्ता तालिम विधिहरू प्रयोग गरिनेछन् ।

४. तालिम हुने स्थान

प्रस्तावित तालिम कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको तालिम हलमा सञ्चालन हुनेछ ।

५. तालिमका सहभागीहरू

प्रस्तावित तालिम कार्यक्रममा २५ जना सहभागी हुनेछन् । तालिमका सहभागीहरूको शैक्षिक योग्यता एस.ई.ई. वा सो भन्दा माथि हुनुपर्नेछ ।

६. स्रोत व्यक्ति र समय

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका २ जना वरिष्ठ प्रशिक्षकहरूले हरेक दिन तालिममा स्रोत व्यक्तिका रूपमा कक्षा सञ्चालन गर्नेछन् । तालिम कार्यक्रमको समय बिहान १०:३० देखि अपराह्न ४:३० सम्म हुनेछ ।

७. तालिमको शुल्क

यस तालिमका सहभागीहरूबाट कुनै शुल्क सङ्कलन गरिने छैन । सहभागीहरूलाई आवश्यक स्टेसनरी  तालिम अवधिको खाजा, हेन्डआउटस आदि उपलब्ध गराइनेछ ।

८.    आवेदन बुझाउने अन्तिम मिति : २०८० पौष १३ गते शुक्रबार

९.    सम्पर्क मिति : २०८० पौष १६ गते सोमबार

१०.   अन्तर्वार्ता मिति : २०८० पौष १७ गते मङ्गलबार

११.   तालिम कार्यक्रम मिति : २०८० पौष १९ गतेदेखि २६ गतेसम्म