“समुन्नत नेपालका लागि उद्यमी तथा उद्योगको सशक्तीकरण”

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

त्रिपुरेश्वर, काठमाडौँ

स्टार्टअप कार्यक्रम २०८०/८१

१. संस्थागत पृष्ठभूमि

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्थापना “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३” अन्तर्गत, २०५३ साल कार्तिक १९ गते भएको हो । वि.सं. २०४० मा तत्कालीन जर्मन प्राविधिक सहयोग नियोग (GTZ) को सहयोगमा साना व्यवसाय प्रवर्धन आयोजना (Small Business Promotion Project) को रूपमा सुरु भएको थियो । यस प्रतिष्ठानले राष्ट्रको औद्योगिक विकासका लागि उद्यमशीलता विकास, व्यवसाय व्यवस्थापन, कार्यमूलक अनुसन्धान तथा उद्योग व्यवसायको विकासको लागि आवश्यक जनशक्तिको विकास गरी उद्योग व्यवसाय क्षेत्रको विकासबाट अर्थ व्यवस्थालाई सबल तुल्याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै स्टार्टअप उद्यम कर्जा कार्यविधि २०८० अनुसार कर्जाको कार्यक्रम र व्यवसाय सम्बर्धन केन्द्र सञ्चालन गरिरहेको छ ।

२. प्रतिष्ठानको मुख्य उद्देश्य

(क)       उद्योग व्यवसायको विकास कार्यमा संलग्न संघ संस्थाहरूको जनशक्ति विकास कार्यमा सहयोग पुर्‍याउन त्यस्ता संस्थाहरूको मागमा आधारित प्रशिक्षक प्रशिक्षण, गुणस्तर व्यस्थापन, सम्भाव्यता अध्ययन र परामर्श सेवाजस्ता सेवाहरू प्रदान गर्ने ।

(ख)       उद्योग व्यवसायको विकासको लागि गुणात्मक सेवा प्रदान गर्न आवश्यकतानुसार कार्यमूलक अनुसन्धान गर्ने ।

(ग)       सेवामूलक संस्थाको रूपमा उद्योग व्यवसाय क्षेत्रको प्राविधिक, उद्यमशीलता र व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप विकास गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने ।

(घ)       स्वदेशी कच्चापदार्थ वा स्वदेशी र विदेशी कच्चापदार्थमा आधारित उद्योग व्यवसायको सम्भाव्यता अध्ययन, अनुसन्धान तथा विकासमा जोड दिने ।

(ङ)       उद्योग व्यवसाय विकासका लागि आवश्यक संस्थाहरूको स्थापना र विकास गर्ने ।

३. प्रतिष्ठानको लक्षित समूह

(क)       उद्योग व्यवसाय गर्न चाहने सम्भाव्य उद्यमीहरू

(ख)       उद्योग व्यवसाय सञ्चालन गरिररहेका उद्यमी, व्यवसायीहरू

(ग)       उद्योग व्यवसायको विकासमा संलग्न व्यक्ति तथा संघसंस्थाहरू

४. स्टार्टअप कार्यक्रमको पृष्ठभूमि

विकसित मुलुकमा ३ दशकदेखि चर्चामा रहे पनि नेपालमा भने स्टार्टअप बारेको अवधारणा तथा कार्यक्रम सञ्चालनको सुरुआती चरणमा नै छ । केही सरकारी तथा निजी क्षेत्रका संघसंस्थाहरूले यस क्षेत्रमा काम गर्न थालेका भए पनि आवश्यक मात्रामा यस्ता कार्यक्रम सञ्चालन हुन सकेको देखिदैन । त्यसैले हाल नेपालमा सिर्जनशील तथा उर्जाशील युवाहरूको अध्ययन, अनुसन्धान, अन्वेषणमा आधारित वा उद्यम व्यवसाय गर्ने कुनै नवीनतम सोच वा क्षमतालाई व्यवसायीकरण गर्न सहयोग पुग्ने तथा उत्प्रेरित गर्ने किसिमका कार्यक्रमहरूको आवश्यकता टड्कारो रूपमा महसुस भइरहेको छ । यसै आवश्यकतालाई सम्बोधन गर्नका लागि यस औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आ.व. २०७३/७४ देखि स्टार्टअप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

५. स्टार्टअप कार्यक्रम के हो ?

वस्तु, सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवम् सिर्जनशील सोचको प्रयोग गरी व्यवसायको रुपमा सञ्चालन भएको र स्तरोन्नतिको सम्भावना रहेका उद्यमलाई स्टार्टअप उद्यम भनिन्छ । स्टार्टअप उद्यमले सूचना प्रविधिको उपयोग एवम् सिर्जनशील सोचको प्रयोग भएको उद्यम वा व्यवसायसमेतलाई जनाउँछ । अर्को शव्दमा नवीनतम सोच भएका र बजारमा चाँडो विस्तार हुन सक्ने सम्भावना भएका व्यवसायलाई स्टार्टअप भन्ने गरिन्छ । त्यस्ता नवीनतम सोच वा अध्ययन, अनुसन्धान, अन्वेषणलाई यस्ता सोच वा सम्भावना भएका सबै युवाहरूले कार्यान्वयन गर्न सक्ने अवस्था नहुने वा कार्यान्वयन गर्न कठिन हुने हुँदा सरकार वा अन्य उद्यम व्यवसाय प्रवर्धनमा लागेका क्षेत्रबाट सुरुको लगानीदेखि परिपक्व हुन्जेलसम्म सहायता तथा सहुलियत दिनु स्टार्टअपको मुख्य विशेषता हो ।

६. स्टार्टअप कार्यक्रमको उद्देश्य

  • अध्ययन, अनुसन्धान, अन्वेषणमा आधारित वा उद्यम व्यवसाय गर्ने कुनै नवीनतम सोच वा क्षमता भएका वा वृद्धि उन्मुख युवा उद्यमीहरू पहिचान गरी उद्यम व्यवसाय स्थापना, सञ्चालन तथा वृद्धिको लागि आवश्यक सहयोग गर्ने,
  • नेपालमा उद्यमशीलताको प्रवद्र्धन तथा विकास गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने र
  • नेपालमा उद्यमशीलताको प्रवद्र्धन तथा विकास गर्नका लागि सार्वजनिक निजी क्षेत्रको बीच उद्यमशील पर्यावरणीय वातावरण सिर्जना गर्ने

७. कार्यक्रम सञ्चालन प्रक्रिया

  • आवेदन सङ्कलन
  • आवेदकहरूको Short Listing गर्ने
  • आवेदन फाराम तथा व्यावसायिक विचारको प्रस्तुतीकरणको आधारमा २०–२५ जना सम्भावित उद्यमीहरूको छनोट
  • छनोट भएका सम्भावित उद्यमीहरूका लागि उद्यमशीलतासम्बन्धी ३ दिनको अभिमुखीकरण कार्यक्रम र १० दिनको बुटक्याम्प सञ्चालन
  • सहभागीहरूलाई आवश्यकताअनुसार व्यावसायिक परामर्श सेवा उपलब्ध गराउने
  • सहभागीहरूको माग भएमा व्यवसाय व्यवस्थापन तालिम सञ्चालन गर्ने ।

८. आवेदन दिनको लागि आवश्यक योग्यता

  • नेपाली नागरिक हुनुपर्ने
  • उमेर : २१ वर्ष पूरा भई ५० वर्षसम्म
  • न्यूनतम शैक्षिक योग्यता : प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण
  • अध्ययन, अनुसन्धान, अन्वेषणमा आधारित वा नवीन व्यावसायिक सोच भएको
  • व्यवस्थापन वा प्राविधिक विधामा कलेजमा अध्ययन विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

९ .कार्यक्रम सञ्चालन तालिका

क्र.सं.कार्यक्रममितिकैफियत
आवेदन बुझाउने मिति२०८१ जेठ १६ गते बुधबारदेखि जेठ २९ गते मङ्गलबारसम्म 
सम्पर्क मिति२०८१ जेठ ३१ गते बिहीबार 
व्यावसायिक विचारको प्रस्तुतीकरण२०८१ असार २ र ३ गते Short List भएका आवेदकहरूलाई मात्र व्यावसायिक विचार प्रस्तुतीकरणमा सरिक गराइनेछ ।
अभिमुखीकरण कार्यक्रम र बुटक्याम्पको लागि सहभागी छनोटको नतिजा प्रकाशन२०८१ असार ४ गते 
अभिमुखीकरण कार्यक्रम सञ्चालन२०८१ असार ५ देखि ७ गते सम्म 
बुटक्याम्प सञ्चालन२०८१ असार ९ देखि १९ गते सम्म 
७.आवश्यक परामर्श, सल्लाह सुझाव तथा सहयोग प्रदानदुई वर्षसम्म । 

विस्तृत जानकारीका लागि सम्पर्क :

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

त्रिपुरेश्वर, काठमाडौँ

फोन नं. : ५३६१३३९, ५३६१४६९, ५३६११६२, ५३६११६३

इमेल : iedi2053@gmail.com

वेबसाइट : www.iedi.org.np

स्टार्टअप तालिमको फारम डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।